काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा गोविन्द केसीको १५ औं अनसन तोडाउने समयमा महत्वपूर्ण भूमिका खेलेका थिए।
गत साउनमा २७ दिन लामो अनसन तोडाउने क्रममा डा केसीलाई जुस पिलाउनेमध्ये नेम्वाङ पनि एक थिए। केदारभक्त माथेमासँगै नेम्वाङले डा केसीलाई जुस पिलउँदै अब डा केसीले कहिले पनि अनसन बस्नुपर्दैन भनेका थिए।
तत्कालिन समयमा नेम्वाङले ‘डा केसीको सबै माग अब पुरा हुन्छ, उहाँले अब फेरि अनसन बस्नु पर्दैन। हामी उहाँका सबै माग पुरा गरेरै छाड्छौं,’ भनेका थिए।
यस्तै उनले सरकार र डा केसीबीच भएको ९ बुँदे सहमतिको पत्र देखाउँदै ‘आज भएका सहमति मात्रै होइन हामीले कयैन लिखित रअलिखित प्रतिबद्धताहरुलाई पूरा गर्नु छ, त्यसलाई हामीले गरेरै छाड्छौं। त्यसकारण अब फेरि पनि उहाँले अनसन बस्नुपर्ने अवस्था आउन दिँदैनौं।’ उनले प्रधानमन्त्रीकै पहलमा यो सहमति भएकाले सहमतिका बुँदा कार्यान्वयन हुँदैन भन्नेमा शंका नगर्न पनि सञ्चारकर्मीसँग आग्रह गरेका थिए।
तर, उक्त सहमतिविपरित विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भइसकेको छ। सरकारले गरेको सहमतिविपरित विधेयक पारित भएको र सरकारले धोका दिएको भन्दै डा केसीले १६ औं अनसन सुरु गरिसकेका छन्।
२५ गतेदेखि आमरण अनसनमा बसेका डा केसीको स्वास्थ्य जटिल बन्दै गइरहेको छ। डा केसी इलाममा अनसनरत छन्। अनसनका कारण डा केसीको अवस्था जटिल बन्दै जाँदा पनि सरकारको तर्फबाट माग पुरा गर्नेतर्फ प्रयास नभएपछि स्वास्थ्यखबरले तत्कालिन समयमा नेता नेम्वाङले बोलेको कुरा सम्झाउँदै डा केसीको अनसनको विषयमा जिज्ञासा राखेको थियो।
यस्तो छ उनले व्यक्त गरेको धारणा
उहाँलाई हामीले अनसन नबस्न आग्रह गरेका थियौँ। उहाँको माग पुरा हुने क्रममा नै छ। उहाँसँग गरेको सहमतिको ९५ प्रतिशत माग त पुरा भएको छ नि। उहाँसँग भएको सहमति भन्दा पनि राम्रा विषय विधेयकमा परेका छन्। अब विधेयक संसदमा प्रवेश गरेको छ। संसदले त सिंगो देशका बारेमा पनि सोच्नुपर्छ नि। माग पुरा हुने क्रममा रहेको समयमा अनसन नबस्न उहाँलाई म आग्रह गर्दछु। उहाँले अब सुविधा सम्पन्न ठाँउमा आउनुपर्छ।
अनसन नबसी छलफलबाट नै यो समस्या समाधान गर्न मैले आग्रह गरेको पनि थिएँ। तर अब अनसन नै सुरु गर्नु भएपछि उहाँको स्वास्थ्यको चिन्ता राज्यले पनि गर्नुपर्छ। इलाममा समस्या छ। हामी इलाममा दुःख गरेर बसेका छौं। इलामको स्वास्थ्यस्थितिको बारेमा मलाई पनि जानकारी छ। त्यहाँ अप्ठेरो छ। तर, उहाँ त्यही गएर अनसन बस्नु भयो। त्यहाँ समस्या छ भन्ने थाहा पाउँदा पाउँदै कसले उहाँलाई त्यहाँ अनसन बस्न पठायो? अब उहाँलाई सुविधा सम्पन्न ठाँउमा ल्याउनु पर्छ। यो कुरामा राज्यले पनि ध्यान दिनुपर्छ र उहाँका साथीले पनि।
अनसन र उहाँको स्वास्थ्यको विषयमा मैले सरकारलाई ध्यानाकर्षण गराइसकेको छु। गृह मन्त्रालयमा पनि ध्यानाकर्षण गराएको छु। यो विषयलाई लिएर निरन्तर कुरा गरिरहेको छु।