काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार विशेष अदालतमा रौनियारसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए। ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति रौनियारले पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको थियो। अख्तियारमा परेको उजुरीको आधारमा खोजी भइराख्दा उनी घुससहित पक्राउ परेका थिए।
रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि सुशीलकुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप आठ लाख घुस–रिसवत माग गरेपछि अख्तियारले रंगेहात पक्राउ गरेको थियो। सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा रामहरि रौनियार मार्फत उनले घुस लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
रौनियारले पटकपटक गरी जम्मा १ करोड २८ लाख घुस–रिसवत लिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले प्राडा राजकुमार रौनियारबाट भ्रष्टाचार निवारण ऐन अनुसार एक करोड २८ लाख बिगो असुल हुनुपर्ने दावी गरेको छ।
उनलाई सोही ऐन बमोजिम कैद र बिगो बराबरको जरिवाना गर्न समेत माग गरेको छ। रौनियार नेपाल सरकारको बिशिष्ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
भतिजो डा रामहरी रौनियारको हकमा अख्तियारले रिसवत लिने कार्यमा मतियार भई कार्य गरेकोले आठ लाख बराबरको बिगो कायम गरी असुल हुनुपर्ने माग गरेको छ। रामहरिको हकमा भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
क) आरोपी प्रा.डा.राज कुमार रौनियारको हकमा
----------------------------------------------
निज प्रा. डा. राज कुमार रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ कोदफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी प्रा. डा. राज कुमार रौनियारलाई बिगो रू.१,२८,००,०००।– (एक करोड अठ्ठाईस लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय हुन र निज प्रा. डा. राज कुमार रौनियार नेपाल सरकारको बिशिष्ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदावी लिइएको
ख) आरोपी डा. रामहरी रौनियारको हकमा
----------------------------------------
निज डा. रामहरी रौनियारले रिसवत लिनेखाने कार्यमा मतियार भई कार्य गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिमको कसुर गरेको देखिँदा निजको हकमा बिगो रू.८,००,०००।- (आठ लाख) कायम गरी सोही ऐनको दफा २२ बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) अनुसार कैद र जरिवाना हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
ग.उजुरी निवेदक सुशिल कुमार झाको हकमा
---------------------------------------------------
निज सुशिल कुमार झाले मिति २०७६/०३/२६ भन्दा अगाडिका मितिहरूमा समेत पटक पटक गरी आरोपी राज कुमार रौनियारलाई रू. १,२०,००,०००।- घुस रिसवत बापत दिएको कुरा निज स्वंमले आयोग समक्ष गरेको बयान ब्यहोरा साथै बुझिएका दिवाकर कार्कीको कागज ब्यहोराबाट समेत खुल्न आई निजले घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ मा परिभाषित कसुर गरेको देखिएता पनि निजले आयोगको अनुसन्धान कार्यमा सहयोगी भूमिका निर्वाह गरी यस भन्दा अगाडि बुझाएको घुस रिसवत रकमहरूका सम्बन्धमा समेत उजुरी दिई अडियो भिडियो समेतको प्रमाणहरू आयोग समक्ष दाखिला गरी अनुसन्धानमा सहयोग गरेको, र उक्त बिषयको अनुसन्धानकै अवधिमा मिति २०७६/०३/२६ गते आयोगबाट उपलब्ध गराइएको रिसवत रकम आरोपीलाई बुझाई निजलाई रिसवत सहित पक्राउ गर्न सहयोग गरेको देखिँदा निज निवेदक सुशिल कुमार झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा ब्यबस्था भए बमोजिम आयोगको साक्षीको रुपमा प्रस्तुत गरी सजायमा पूर्ण छुट दिइएको ।
घ.सवारी चालक दिवाकर कार्कीको हकमा
---------------------------------------------------
निज दिवाकर कार्कीले निवेदक सुशिल कुमार झाबाट पटक पटक गरी रू. १,०६,००,०००।- बुझीउपकुलपति प्रा. डा. राज कुमार रौनियारलाई दिएको भन्ने ब्यहोरा निज स्वयंको बयान र निवेदक सुशिल कुमार झाको बयान ब्यहोराबाट खुल्न आई निजले घुस रिसवत लिने दिने कार्यमा प्रत्यक्ष संलग्न भै भ्रष्टाचार निवारण ऐन, २०५९ मा परिभाषित कसुर गरेको देखिएता पनि निजले यस भन्दा अगाडि सुशिल कुमार झासँग लिई राज कुमार रौनियारलाई बुझाएको घुस रिसवतको सम्बन्धमा सम्पूर्ण ब्यहोरा खुलाई आयोगको अनुसन्धान कार्यमा सहयोग गरेको देखिँदा निज सवारी चालक दिवाकर कार्कीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा ब्यवस्था भए बमोजिम आयोगको साक्षीको रुपमा प्रस्तुत गरी सजायमा पूर्ण छुट दिइएको ।