काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सिफारिस भएका तीन जना चिकित्सकको ऐनले तोके अनुसारको शैक्षिक योग्यताका विषयमा प्रश्न उठेको छ।
उपाध्यक्ष सिफारिस समितिले २९ साउनमा तीन जना चिकित्सकको नाम उपाध्यक्षका लागि सिफारिस गरेको थियो। तर, सिफारिस भएका तीनै जनाको योग्यता उपाध्यक्षका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार नभएको भेटिएको छ।
ऐन अनुसार लोक सेवा आयोगका अध्यक्ष उमेश मैलानीको संयोजकत्वमा रहेको उपाध्यक्ष छनोट समितिले एक नम्बरमा डा सुरेन्द्र शेरचन, दुई नम्बरमा डा शम्भुकुमार पहारी र तीन नम्बरमा डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको छ। समितिमा त्रिवि शिक्षण अस्पतालकी प्राडा दिव्या सिंह शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव शिशिर ढुंगाना सदस्य छन्।
तर, उपाध्यक्षका लागि सिफारिस भएका यी तीनै जनाले ऐनले तोकेअनुसारको मापदण्ड पुरा नगरेको फेला परेको हो।
ऐनको दफा २४ मा उपाध्यक्षका लागि सिफारिसका आधारहरु उल्लेख छ। जसमा पहिलो नम्बरमा नै शैक्षिक योग्यता र कार्यअनुभवको विषय उल्लेख छ।
उक्त दफा अनुसार उपाध्यक्ष हुने व्यक्तिले मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शास्त्रको कुनै पनि विधामा कम्तीमा स्तातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा बीस वर्षको अनुभव भएको हुनुपर्ने वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव सहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ।
समितिले सिफारिस गरेका तीनै जना चिकित्सकले यो मापदण्ड पुरा नगरेको पाइएको हो।
उपाध्यक्षका लागि एक नम्बरमा सिफारिस भएका डा शेरचन मानसिक रोगका क्षेत्रमा कार्यरत चिकित्सक हुन्। उनले यो विषयमा एमबिबिएस पछिको तीन वर्षे स्नातकोत्तर तह (एमडी) गरेका छैनन्। उनले यो विषयमा दुई वर्षे डिप्लोमा कोर्ष गरेका हुन्। यो कोर्ष उनले सन् १९८८ मा नै पुरा गरेका छन्। तर, यसलाई चिकित्सा शिक्षाका स्नातकोत्तर तहको अन्य विषय जस्तै तीन वर्षे कोर्षका रुपमा मान्यता दिन नसिकने विज्ञहरु बताउँछन्।
डा शेरचनले पोष्ट ग्राजुयट कोर्ष इन स्पेसिफिकेसन इन साइकियाट्रिक (क्लिनिकल अर्डिनाटुरा) गरेका हुन्। यो भनेको एमबिबिएस पछिको दुई वर्षे डिप्लोमा कोर्ष हो। डा शेरचनले यो विषय अध्ययन गरेपछि नेपाल मेडिकल काउन्सिलमा सन् २०१५ को जनारी ६ मा मात्र विशेषज्ञ चिकित्सकका रुपमा दर्ता गरेका छन्।
डा शेरचनको काउन्सिल दर्ता नम्बर १२४९ हो। उनले एमबिबिएस पछिको दुई वर्षे डिप्लोमा कोर्ष रुसमा अध्ययन गरेका हुन्। उनी नेकपा नेता अमिक शेरचनका आफन्त हुन्। डा शेरचनले नेपाल सरकारको कर्मचारीको रुपमा लामो समय काम गरेर अवकाश पाएका हुन्। उनीसँग चिकित्सा शिक्षाका क्षेत्रमा १० वर्ष काम गरेको अनुभव समेत छैन।
समितिले उपाध्यक्षका लागि दोस्रो नम्बरमा सिफारिस गरेका डा पहारीले स्नातकोत्तर तहको अध्ययन पुरा गरेको अवधि अहिले बल्ल १२ वर्ष पुगेको छ। सन् २००७ मा उनले इन्टरनल मेडिसिनमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका हुन्। ऐनले २० वर्षको अवधि तोकेका कारण उनको उक्त मापदण्ड अनुसार योग्यता पुग्न अझै ८ वर्ष लाग्ने देखिन्छ।
डा पहारी सन् २००८ को अप्रिल ३ मा विशेषज्ञ डाक्टरको रुपमा दर्ता भएका छन्। उनको काउन्सिल दर्ता नम्बर १०४० हो। वीर अस्पतालमा लामो समय काम गरेका उनीसँग चिकित्सा शिक्षाका क्षेत्रमा १० वर्ष काम गरेको अनुभव समेत छैन।
तेस्रो नम्बरमा सिफारिसमा परेका डा गिरी समेत ऐन अनुसार योग्यता नपुगेका चिकित्सक हुन्। उनले सन् २००३ मा हाडजोर्नी तथा ट्रमा विषयमा स्नातकोत्तर (एमएस) गरेका हुन्। यो आधारमा हेर्दा उनले स्नातकोत्तर पुरा गरेको १६ वर्ष मात्र भएको छ। उनको पनि २० वर्ष पुग्न अझै ४ वर्ष बाँकी छ।
डा गिरीले उक्त विषयमा एमएस गर्नुअघि अर्थोपेडिक्स विषयमा नै डिप्लोमा कोर्ष गरेका थिए। एमबिबिएसपछि अर्थोपेडिक्समा उनले सन् १९९६ मा डिप्लोमा कोर्ष गरेका हुन्। तर, उक्त कोर्षलाई स्नातकोत्तर तह मान्न नसकिने विज्ञ बताउँछन्।
डा गिरीको काउन्सिल दर्ता नम्बर १६३२ हो। डा गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्। उनी शिक्षा मन्त्री गिरिराजमणि पोखरेल निकट हुन्।