डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–८ मा महामारीका रूपमा फैलिएको ‘हैजा’को प्रकोप १५ दिनपछि नियन्त्रणमा भएको छ। वडामा ८९ जनामा हैजा भेटिएको र अहिले नियन्त्रण हुनुका साथै खतरामुक्त रहेको सादनी स्वास्थ्य चौकी प्रमुख आनन्दकुमार यादवले बताएका छन्।
जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका-८ का सानखोला, धादलीफाँटा र गोप्तेगाडा गरी तीन गाउँका ८९ जनामा प्रभावित भएका छन्। तर उनीहरू सबैको अवस्था खतरामुक्त रहेको स्वास्थ्य चौकी प्रमुख यादवले बताए। गत साउन २६ गते एक जनामा भेटिएको झाडापखलाले विस्तारै हैजाको रुप लिएपछि १५ दिनसम्म तिन गाउँका स्थानीय चिन्तित भएका थिए। ‘साउन २६ गते एक जनामा देखिएको थियो। १५ दिनपछि जनचेतनामूक कार्यक्रम गरी ८९ जना पुगेर नियन्त्रणमा आएको छ। भाद्र ८ गतेबाट एक जना पनि बिरामी आएका छैनन्। अब मान्न सकिन्छ।'
अहिले यस क्षेत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटी, स्वास्थ्य कार्यालय डडेल्धुरा, परशुराम स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य संस्थाका गरी १६ जनाभन्दा बढी स्वास्थ्यकर्मी परिचालित रहेको परशुराम नगरपालिका-८ का वडाध्यक्ष गोविन्द बोहराले बताए। ‘स्वास्थ्य चौकी प्रमुख यादवको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उपचार तथा जनचेतनामूलक कार्यक्रमसहित घर–घरमा पुगेका छन्’ अध्यक्ष बोहराले भने।
डडेल्धुरा अस्पतालले गरेको दिसाको नमूना परीक्षणमा झाडापाखलाकै कारण हैजा भएको पुष्टि भएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुसालले बताएका छन्। ‘दिशामा मात्र हुने कोलीर्फम पानीमा भेटिएकाले पानीबाट सबैमा हैजा भएको भन्न सकिन्छ। यो एक झडापखलाकै कडा रुप हो,’ उनले भने।
८५ जना बिरामी भेटिएपछि सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठान सिंह बोहराको नेतृत्वमा एक प्रदेशको स्वास्थ्यकर्मी सहितको टोली र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा एक टोली हैजा प्रभावित क्षेत्रमा पुगेर आवश्यक छलफलपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।
दरबन्दीअनुसार डाक्टर खटाउन सरकारसँग आग्रह
डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधिले दरबन्दीअनुसार डाक्टर खटाउन संघीय सरकारसँग आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा बसेको स्थानीय तहका प्रमुख र जिल्लास्थित सरकारवालाको बैठकले सरकारसँग दरबन्दीअनुसार डाक्टर तथा स्वास्थ्यमर्की खटाउन आग्रह गरेको हो।
जिल्लाको परशुराम नगरपालिका-८ मा झाडापाखालाको महामारी भएको तथा जिल्लाका अन्य स्थानमा समेत विभिन्न सरुवा रोग तथा महामारी फैलिन सक्ने संम्भावना रहेको भएपनि जिल्ला विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको बैठकको निष्कर्ष छ।
जिल्लाका डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल तथा स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहमा कार्यरत डाक्टर तथा स्वास्थकर्मी समायोजनका कारण अन्य स्थानमा रमाना भई गएको तथा जाने क्रममा रहेकाले डाक्टर तथा स्वास्थ्यकर्मीको संख्या दरबन्दीका तुलनामा अत्यन्त कम र कतिपय स्वास्थ्य संस्थामा कुनैपनि स्वास्थ्यकर्मी नरहने अवस्था छ।
स्वास्थ्यकर्मीहरुलाई तुरुन्त खटाई पठाइदिन स्वास्थ्य तथा मन्त्रालय काठमाडौं र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय धनगढीलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडलले जानकारी दिए।
समयमै सतर्कता अपनाउन नसकिएको खण्डमा जिल्लाका अन्य स्थानमा समेत महामारी फैलिन सक्ने भएकाले औसधिसहितका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालय सामाजिक, प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, डडेल्धुरा/जोगबुडा अस्पताल, स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्थालाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए।