काठमाडौं- अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलित उपत्यका बाहिर रहेका मेडिकल कलेजका विद्यार्थीहरु काठमाडौं आएका छन्। वीरगञ्ज स्थित नेसनल मेडिकल कलेज, भैरहवस्थित युनिभर्सल मेडिकल कलेज, पोखराको गण्डकी र चितवन मेडिकल कलेजका विद्यार्थीहरु आफ्ना माग सुनुवाइ नभएपछि काठमाडौं आइपुगेका हुन् । आन्दोलित विद्यार्थी र उनीहरुका मागबारे तयार पारिएको भिडियो रिपोर्टः
वीरगञ्जस्थित नेसनल मेडिकल कलेज, भैरहवस्थित युनिभर्सल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थीहरु डर र त्रास बोकेर आफ्ना माग पुरा गराउन काठमाडौं आइपुगेका छन्। मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा लाखौं बढी अतिरिक्त शुल्क लिएपछि उक्त रकम फिर्ताको माग गर्दै मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।
अवैध रुपमा उठाइएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दा नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीले विद्यार्थीमाथि कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको विद्यार्थीहरुको भनाइ छ। कलेज र होस्टेल नै असुरक्षित भएपछि उनीहरुले सरकारसँग सुरक्षा र दोषीलाई कारबाहीको माग गरेका छन्।
विद्यार्थीलाई कलेज सञ्चालकले फेल गराउनेदेखि रेस्टिकेट गर्नेसम्मको धम्की दिएपछि उनीहरु खुलेर बोल्न समेत डराउँछन्। यहाँसम्मकी सञ्चालकले विद्यार्थीका अभिभावकलाई समेत फोन गर्दै धम्क्याउन थालेका छन्।
मेडिकल कलेज परिसरमा नै अतिरिक्त शुल्क फिर्ताको माग गर्दै लामो समय आन्दोलन र ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि विद्यार्थीहरु न्यायको माग गर्दै काठमाडौंमा नै आउनु परेको हो।
उनीहरुले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा आएर आन्दोलन सुरु गरेका हुन्। न्यायका लागि लगातारको आन्दोलनका कारण विद्यार्थीहरुको पठन पाठन समेत प्रभावित भएको छ। जसका कारण उनीहरुको शैक्षिक क्यालेन्डर समेत प्रभावित हुने भएको छ। उनीहरुले केही दिनपछि हुनलागेको परीक्षा सार्न समेत माग गरेका छन्।
विद्यार्थीको माग र आन्दोलनपछि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले परीक्षा केही समयपछि सार्न सहमतभएको छ। शुल्कफिर्ताको विषयमा पनि सरकारले आवश्यक कदम अगाडी बढाएको शिक्षा मन्त्रालयले जनाएको छ। विद्यार्थीहरुले आफूसँग बढी लिएको शुल्कको विवरण खुलाएर जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएपछि उनीहरुले शुल्क फिर्ता पाउने व्यवस्था सरकारले गरेको छ।