काठमाडौं- प्रधानमन्त्रीले केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या र कानुन मन्त्रीको जिम्मेवारी साटफेर गरेका छन्। मन्त्रिपरिषद् पुनर्गठनका क्रममा प्रधानमन्त्री ओलीले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र कानुन मन्त्री भानुभक्त ढकालको जिम्मेवारी हेरफेर गरेका हुन्।
जिम्मेवारी हेरफेरसँगै अबदेखि स्वास्थ्य मन्त्रीको जिम्मेवारी भानुभक्त ढकालले गर्ने भएका छन् भने कानुन मन्त्रीका रुपमा उपेन्द्र यादवले। प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँलाई नियुक्त समेत गरेका छन्।
समाजवादी पार्टीका अध्यक्ष यादव यतिबेला भारतमा छन्।
यस्तै स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत आएका छन्। सुरेन्द्र यादव हटाइएका छन्।
प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीसहितको मन्त्रिमण्डल गठन गरेकी हुन्।
'नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ,' राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायामन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषि तथा पशुपन्छीविकास चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका प्रसाद यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरी मन्त्रीबाट हटाइएका छन्।
