वीरगञ्ज- अतिरिक्त शुल्क फिर्ताको माग राखेर आन्दोलनरत नेसनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशाससनले आक्रमण गरेको छ। शान्तिपूर्ण धर्नामा बसेका विद्यार्थीमाथि कलेज प्रशासनबाट परिचालित व्यक्तिहरुले आक्रमण गरेका हुन्।
कलेज प्रशासनको कोटाबाट पढेका पुराना विद्यार्थीले आन्दोलनरत प्रथम वर्षका महिला विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ। आक्रमणपछि कलेज क्षेत्र तनावपूर्ण भएको छ।
आक्रमणपछि दुई पक्षमा दोहोरो भिडन्तको अवस्था सिर्जना भएपछि प्रहरीले छुट्याएको छ। महिला विद्यार्थीमाथि समेत भौतिक आक्रमण गरिएपछि दोहोरो भिडन्तको अवस्था सिर्जना भएको विद्यार्थीहरुले बताएका छन्।
बिहिबार पनि कलेजमा तनावको अवस्था आएको थियो। कलेज प्रशासनले विद्यार्थीहरुलाई होस्टल प्रवेशमा समेत रोक लगाएपछि तनाव उत्पन्न भएको थियो।
सरकारले तोकेकोभन्दा बढी शुल्क उठाएको विरोधमा विद्यार्थीले कलेज परिसरमा धर्ना लगायतका विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।