काठमाडाैं- नेपाल नर्सिङ संघ (नान) को यहि पुस ९ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ।
निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले ९ बुँदे आचारसंहिता जारी गरेकी हुन्। उनले उम्मेद्वार, मतदाता र निर्वाचन अधिकृतले समेत निर्वाचन आचारसहिंता पालना गर्नुपर्ने बताएकी छिन्।
आगामी पुस ९ गते देशभरमा २१ वटा मतदानबाट संघको १९औं कार्यकारिणीको निर्वाचनका लागि मतदान हुँदैछ। निर्वाचनमा मंसिर ९ गतेसम्म संघमा दर्ता भएका सदस्यहरुले मात्र मतदान गर्न पाउने छन्।
हरेक तीन वर्षमा हुनुपर्ने एसोसिएसनको निर्वाचन पाँच वर्षपछि मात्र हुन लागको हो। नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशभर एकै दिन निर्वाचन गर्ने निर्णय गरेको बताइन्।
सम्पूर्ण नर्सको छाता संगठनको रुपमा रहेको संघले नर्सका समस्या, पेसागत अप्ठाराहरुलाई उठाउन नसकेको र राजनीतिक दबाबमा पर्ने गरेको आरोप लाग्दैआएको छ।
लामो समयसम्म निर्वाचन हुन नसक्दा विभिन्न आलोचना समेत हुन थालेको थियो। नान नेतृत्वले राजनीतिक दबाबमा कतिपय नर्सका एजेन्डालाई उठाउन नसक्दा युवा नर्स असन्तुष्ट बन्दै आएको बताइन्छ।
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ९० हजार ८ सय १७ नर्स दर्ता भइसकेका छन्। तर यो तथ्यांक हेर्दा नानमा हालसम्म जम्मा ११ हजार ४१ नर्सले मात्र सदस्यता लिएका छन्।
यो तथ्यले अहिले पनि नानले युवा नर्सहरुलाई संस्थाप्रति विश्वस्त र आकर्षित गर्न नसकेको देखिन्छ। भएका सदस्य पनि नानले अपेक्षाअनुसार काम नगरेको गुनासो गर्ने गर्छन्।