डडेल्धुरा- बिहीबार रातिदेखिको हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजमागर्द अवरुद्ध भएका छन्। हिमपात र वर्षाका कारण सडक अवरुद्ध भएपछि शुक्रबार राती ८ बजेबाट सदूरपश्चिमका पहाडी जिल्ला पुग्ने मुख्य सडक बन्द भएका छन्। हिमपातका कारण सवारी सधान जाममा पर्दा हजारौं यात्रु सडकमै अलपत्र परेका छन्। यात्रुहरुमध्ये सबै भन्दा बढी पिडा बिरामीहरुलाई भयो।
यस्तै पीडा भोग्ने मध्ये एक दम्पती हुन् नवलबहादुर पाल र माधवी पाल। तीन दिनअघि दार्चुला जिल्लाको लेकम गाउँपालिका-४ कापालकी श्रीमती माधवी भिरबाट लडेपछि धनगढीमा सुविधा सपन्न अस्पताल लैजान हिँडे। बिहीबार राती ११ बजे नै पत्नीको उपचारका लागि धनगढी हिँडेका उनलाई हिमपात अभिशापजस्तै भएको छ। शुक्रबार बिहान ६ बजेसम्म श्रीमती माधवीको होस खुलेन। अचेत श्रीमतीसँगै ७ घन्टा बस्नुपर्यो उनलाई। बिहान ६ बजे प्रहरीको सहयोगमा अचेत अवस्थामा नै ३८ वर्षीया माधवीलाई बझाङकै पाटन अस्पतालमा भर्ना गरियो।
पाटन अस्पतालले तत्काल डडेल्धुरा अस्पताल लैजान रेफर गर्यो। फेरीबाट श्रीमतीलाई डडेल्धुरा अस्पतालमा ल्याउन कस्सिए नवल। अचेत अवस्थाकी माधवीसहित धनगढी हिँडेको पाटन अस्पतालको एम्बुलेन्स पाटन अस्पतालबाट ८ किलोमिटर भन्दा अघि बढ्न सकेन। हिमपात सुरु भयो। एम्बुलेन्स सडकमा अड्कियो। यो घटनाले अचेत माधवीका सचेत पतिलाई झन् ठूलो बज्रपात पर्यो। तर कुनै विकल्प बाँकी थिएनन्। प्रकृतिले जे गर्थ्यो त्यो सामना गर्नुको विकल्प न एम्बुलेन्सलाई थियो न त नवललाई नै।
लामो समय त्यहीँ विश्राम गरेपछि शुक्रबार दिउँसो २ बजे बल्लतल्ल डडेल्धुरा अस्पताल पुर्याएन सफल भए नवल। माधवीको उपचार गर्न डडेल्धुरा अस्पतालले पनि असमर्थता जनाएपछि धनगढी रेफर गर्यो। तर हिमपात रोकिएको थिएन। यसले दिने सास्तीको अनुमान लगाउन गाह्रो थिएन। तैपनि बिरामीको अवस्था गभ्मीर भएकाले एम्बुलेन्स धनगढीका लागि छुट्ने भयो।
सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्डेलेकमा सडकखण्डबाट एम्बुलेन्स पुनः अघि बढ्न सकेन। एम्बुलेन्स अगाडि बढ्न नसकेपछि पुनः डडेल्धुरा नै फर्कियो सो एम्बुलेन्स। हिमपातका कारण नसोचेको सास्ती पाएका नबलबहादुर अहिले चिन्तित छन्। 'तीन दिनसम्म मेरी श्रीमती अचेत छ। गाडी बन्द छन्। कसरी कोहलपुर अस्पताल पुर्याऔं?,' नवलले प्रश्न गरे।
अचेत अवस्थामा माधवी। टाउकोमा गभ्भीर चोट लागेकी उनको उपचार गर्न तत्कालै सुविधासम्पन्न अस्पताल पुर्याउन डडेल्धुरा अस्पतालले रेफर गरिसकेको छ। तर हिमपातका कारण सडक अवरुद्ध भएपछि उनलाई अन्यत्र लैजान सकिएको छैन। तस्बिर : ललित बोहरा
माधवीको टाउकोमा गम्भीर चोट लागेको छ। लामो समयसम्म अचेत रहेकी माधवीको अवस्था थप गम्भीर हुन नदिन र नवलले स्थानीय सरकारसँग सहयोगका लागि अपिलसमेत गरेका छन्।
मौसममा सुधार आएपछि नेपाली सेना हेलिकोप्टरबाट माधवीको उद्धार हुने पखाईमा छन्। शनिबार बिहानै उनको उद्धार गरिने बताइएको भए पनि हिमपात र वर्षा नरोकिएकाले हेलिकोप्टर जान सकेको छैन। दिउँसो ३ बजे यो समाचार तयार पार्दासम्म पनि माधवीको उद्धारका लागि हेलिकोप्टर पुग्न सकेको छैन। हेलिकोप्टर कति बेला आउला र श्रीमतीको कति बेला उद्धार होला भनेर नवलका आखाँ हेलिकोप्टर आउने आकाशको बाटो नियाल्न तल्लीन छन्। तर बिहानै आउँछ भनिएको हेलिकोप्टर दिनभर पनि नआएपछि उनको चिन्ता थपिएको छ।
माधवीलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकोप्टर तयारी अवस्थामा राखिएको जिल्ला प्रसासन कार्यालय, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताएका छन्।
माधवी मात्र होइन, डडेल्धुरा जिल्लाको अमरगढी–१० का गोविन्द भण्डारी पनि डडेल्धुरा अस्पतालको बेडमा भर्ना भएका छन्। उनलाई पनि डडेल्धुरा अस्पतालले अन्य अस्पताल लैजान भने पनि सडक अवरुद्ध भएका कारण अस्पतालमै उपचार भइरहेको छ। उनकी श्रीमती सरु भण्डारीले पनि हेलिकोप्टरबाट उद्धारको माग गरेकी छन्।